लोकतन्त्र : प्रेम, धोका र वास्तविकता


  • नेपाली समाजमा अहिले ‘पपुलिज्म’ बढ्दै गएको छ। एकातिर राज्य जनताका चाहनाप्रति संवेदनशील हुनसकेको छैन भने अर्कातिर पपुलिज्मका पनि धेरै चुनौती छन्।
 
‘लभ इज ब्लाइन्ड’ भन्ने त हामी धेरैले थाहा पाएकै हो। यसको अर्थ हो— जब व्यक्तिमा कुनै तीव्र इच्छा वा चाहना हुन्छ अनि उसले अरु केही सोच्दैन, कुनै कुरा देख्दैन। त्यस सपनाको विरोधमा बोल्ने सबैलाई शत्रु ठान्दछ। नेपाली समाजका धेरै आमाबाबुले यो भोगेकै होलान्।
 
कुनै व्यक्तिलाई प्रेम गर्नुमात्र प्रेम होइन। प्रेम कुनै वस्तु, ठाउँ वा भावसँग पनि हुन सक्छ। जस्तो गाडीसँग प्रेम। मोटरसाइकलसँग प्रेम। अरबसँग प्रेम। अमेरिकासँग प्रेम। कोरियासँग प्रेम। आइफोनसँग प्रेम। सत्तासँग प्रेम। पैसासँग प्रेम। शक्तिसँग प्रेम। आखिर यी सबै प्रेम नै त हुन्। यस्तै भनिन्छ, प्यारमा सबै जायज हुन्छ। अनि कुनै नेताको सत्तासँग प्रेम भयो त के बिग्रियो?
 
प्रेमले व्यक्तिलाई विवेकहीनमात्र बनाउँदैन, कमजोर पनि बनाउँछ। एउटा युवालाई उसकोे प्रेम र इच्छा पूरा गरिदिने गर्ने आश्वासन कसैले दियो भने, उसले सजिलै पत्याउँछ। अनि ऊ ठगिन्छ।
 
पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ नेपालको राष्ट्रपति बन्ने ठूलो इच्छा थियो। यसैका लागि उनले देशी विदेशी शक्तिसँग सम्झौता गरे। आखिरमा जसरी खाडीमा लाने सपना देखाइएको कुनै एउटा युवा ठगिने गर्छ, सत्ता मोहमा अन्ध प्रचण्ड पनि शक्तिका ठेकेदारबाट त्यसरी नै ठगिए। अर्थात् नेपालमा सपना देख्ने व्यक्ति चाहे त्यो जतिसुकै शक्तिशाली किन नहोस्, ठगिन सक्छ। ऊ सामान्य निमुखा नागरिकभन्दा पनि निरीह हुन सक्छ।
 
प्रेममा विद्रोह पनि हुन सक्छ। प्रेमका लागि धेरैले बाबुआमा र घर छोडेका घटना प्रशस्त देखिएको छ। प्रेमका लागि युवाले बाबुआमासितमात्र हैन समाजसित पनि विद्रोह गर्न सक्छ। वैचारिक आस्थासँगको प्रेमले कुनै युवा राज्यसँग विद्रोह गर्न सक्छ। विदेशसँगको प्रेमले अर्को युवा मातृभूमिसित विद्रोह गरी त्यतै लाग्न सक्छ। प्रेमका लागि कुनै नेताले आस्था र आदर्शसंग विद्रोह गर्न सक्छ।
 
प्रेम र सपना फरक छन्। प्रेम र सपना उस्तै छन्। यही विरोधाभासका बीच हामी नयाँ नेपालमा बाँचिरहेका छौँ।
 
लोकतन्त्रमा मतदान गर्नु सपनाको अभिव्यक्ति हो। मतदान गरेकै आडमा लोकतन्त्र टिक्छ भनेर मान्नु सपनाको आडमा विपना बन्छ भनेर मान्नुजस्तै हो। नेपालमा मात्र होइन विश्वमा नै लोकतन्त्र मृगमरीचिकाका रूपमा देखापरेको छ। विश्वमा केही मुलुक धनी होलान्, केही मुलुकमा मानवाधिकार र स्वतन्त्रता होलान् तर ती भएकै कारण त्यस्ता मुलुकमा लोकतन्त्र छ भनेर मान्न मिल्दैन।
 
लोकतन्त्रका दुईवटा पाटा हुन्छन्। एउटा प्रतिनिधित्वको पाटो जहाँ मतदानका भरमा बहुमतका आधारमा राजनीतिक दलले जनताको प्रतिनिधित्व गरेको दाबी गर्छन्। तर के दलहरुले जनचाहनाको साँच्चिकै प्रतिनिधित्व गर्न सकेका छन् त? के सुशील कोइराला र वामदेव गौतम चुनावमा जनताको मतरुपी सपना बोकेर सत्तामा आएका होइनन्? त किन तिनले जनताको चाहना र आकांक्षाको प्रतिनिधित्व गर्न सकिरहेका छ्रैनन्?
 
अर्को, राज्यसंचालन गरेर जनतालाई लोकतन्त्रको फल दिने पक्ष। हामीले चुनेर पठाएका नेता राज्य सञ्चालन गर्न सक्षम छन् त? उदाहरणका लागि न्यायाधीशको सुनुवाइ हेरौँ। पत्रकारहरूले छापेका कुरामात्र सुनुवाइमा उठाउन सक्ने जनप्रतिनिधि कस्ता जनप्रतिनिधि? के उनीहरुसँग राज्य र न्यायापालिकासँग भएका प्रामाणिक आधार संकलन गर्न सक्ने अधिकार थिएनन्? सत्यतथ्य खुट्याउन सक्ने सीप थिएन? किन उनीहरुले प्रमाण र तर्क प्रस्तुत गर्न सकेनन्?
 
नेपालमा लोकतन्त्र अझै सफल हुनसकेको छैन। राजनीतिक दलहरू एकातिर जनताको इच्छा र अभिव्यक्तिको प्रतिनिधित्व गर्नै चाहँदैनन् भने अर्कातिर राज्य सञ्चालन गरेर जनतालाई प्रतिफल पनि दिन असमर्थ छन्। यसरी जनताको मतरुपी सपना विपना हुनै पाएको छ। त्यसैले सायद जनता ससाना विद्रोह पनि गर्दैछन् र आफ्ना सपनाको अभिव्यक्ति दिने रमेश खरेलजस्ता व्यक्तित्वलाई बोकेर हिँड्दैछन्। यो लहर सपना र विद्रोहका अभिव्यक्ति हुन्। जब व्यक्ति असफल हुन्छ अनि सपना फेरि तुहिन्छ।
 
आज फेरि नयाँ खालको ‘पपुलिज्म’को चाह मध्यमवर्गीय चेतनामा व्याप्त छ। किनभने यहाँ नयाँ प्रकारको अमूर्त शत्रु अस्तित्वमा आएको छ। शत्रु यही हो भनेर खुट्याउने क्षमता आई नसकेको अवस्थामा, जनमानस अन्योलमा बाँचिरहेको छ। बेला बेलामा उ उद्वेलित हुन्छ, तर उद्वेलनलाई कता डोर्यामउने मेसो चाहिँ पाउँदैन।
 
संसदीय सुनुवाइका क्रममा देखिएको पपुलिज्मको भावनालाई हेर्दा ती सम्मानजनक देखिन्छन्। स्वच्छ र स्वतन्त्र न्यायपालिका चाहिन्छ। भ्रष्ट र अनैतिक व्यक्ति न्यायाधीश हुनु हुन्न। सुनुवाइ प्रक्रिया परिणाममूलक पनि हुनुपर्छ। छनौट प्रक्रिया पारदर्शी हुनुपर्छ। राजनीतिक भागबन्डाका आधारमा वा आकाशवाणीका भरमा न्यायाधीश छानिनु हुँदैन।
 
अनि, सुनुवाइकै क्रममा देखिएको पपुलिस्ट दुई प्रश्न हेरौं। एकजनाले साधे — तपाईं आठ जनामध्ये सबैभन्दा बढी अनुभवी भएको कारणले नै सात क्वीन्टल चरेस छुटाउन सफल हुनु भएको हो? यस्तै अर्कोले सोधे — अदालतमा सेटिंग र बिचौलिया भन्छन्, यहाँले छोरालाई पनि विचौलिया बनाएको आरोप छ, आफू त बिग्रियो बिग्रियो छोरालाई पनि बिगार्ने हो?
 
यस्ता प्रश्न सोध्न सकिएला तर मिडियामा लोकप्रिय बन्नमात्र यस्ता प्रश्न सोधेर केही हासिल हुने त हैन। हैन भने संसदीय समितिजस्तो गरिमामय स्थानमा प्रामाणिक आधार जुटाएर आरोप लगाउन किन नसकेको? अनि प्रश्न सोधी सकेपछि समितिले त्यस मुद्दाको फैसला ठीक थियो कि थिएन, थिएन भने किन थिएन त्यसको आधारमा निर्क्योल गरेर प्रष्ट धारणा बनाउन किन नसकेको? यस्ता क्षमता हाम्रा सभासद्मा देखिएन। त्यसो भएको भए जतिसुकै आकाशवाणी आए पनि सभासद्ले सही निर्णय गर्न सक्ने थिए। गलत आरोप रहेछ भने अन्याय पनि हुन दिने थिएनन्। तर दुवै भएन। पपुलिज्मले पनि हार्यो्, लोकतन्त्रले पनि हार्यो।
 
लोकतन्त्रलाई सफल बनाउन आदर्श र भावना भएरमात्र पुग्दैन। नेपालजस्तो मुलुकमा एक जनाले पनि धेरै परिवर्तन ल्याउन सक्छ, तर लोकतन्त्र सफल हुन केही व्यक्तिमात्र सफल भएर वा केहि व्यक्तिले मात्र काम गरेर पुग्दैन। व्यक्तिबाट सुरु गर्न सकिन्छ तर व्यक्तिमा गएर अन्त्य गर्न सकिन्न्न।
किन?
 
‘पपुलिज्म’का आफ्नै खतरा छन्, जुन व्यक्तिका सपनासँग गाँसिएका हुन्छन्। जसरी प्रेम अन्धो हुन्छ, त्यसैगरी पपुलिज्म पनि अन्धो हुन्छ।
 
पपुलिज्मले लोकतान्त्रिक पद्धतिभन्दा बढी जनताको भावनालाई प्रतिनिधित्व गर्न सक्ला तर फेरि यसले समाजलाई दुई स्पष्ट भागमा विभाजित गर्छ – जनवादी र राज्यसत्तावादी। पपुलिज्मको कुनै विचारधारा हुँदैन तर यसले फेरि शत्रु निर्माण गर्छ। यसले लोकतान्त्रिक भावनाको प्रतिनिधित्व गर्छ, तर यसको गन्तव्य फेरि अधिनायकवादी हुन्छ। यो देशभक्त हुन्छ, तर राष्ट्रवादका नाममा फेरि सुरुङ खन्न थाल्छ। यसले शक्ति समताका लागि संभ्रान्तमाथि आक्रमण गर्छ, तर फेरि शक्तिको केन्द्रीकरण गर्छ। यो हेर्दा प्रगतिशील देखिन्छ, तर वास्तवमा असहनशील हुन्छ। यसले लोकप्रिय नारा लगाउँछ तर नीतिगत गहिराइसम्म जान सत्तै्कन।
 
पपुलिस्ट चेतना न्यायको खोजीमा खालि शत्रुको अन्त्यको लागि मात्र काम गर्न सक्छ। नेपालको विद्रोहको इतिहासमा पनि त्यस्तै देखिन्छ। शत्रुको अन्तसँगै नयाँ परिस्थिति जन्मन्छ तर नयाँ परिस्थितिसँगै नयाँ शत्र ुपनि जन्मन्छ। विसं २०६२/६३ को जनआन्दोलनले अन्यायको प्रतीक रहेको एउटा शत्रुलाई सखाप पार्योप तर न्यायपूर्ण समाज फेरि स्थापना गर्न सकेन।
 
त्यस्तै भ्रष्टाचारको विषयलाई हेरौँ। डीआईजीहरू सुटकेश बोकेर हिंडिरहेका छन् भनेर आरोप लगाउन सजिलो छ। त्यसले पपुलिज्मको आगोमा घिउ थप्छ। तर त्यसको हल के त? एउटा हल रमेश खरेललाई नै आईजीपी बनाएर सबै भ्रष्टाचारीलाई तह लगाउनु हो। तर के त्यो न्यायपूर्ण हो? यसका दुईवटा समस्या छन्।
पहिलो समस्या, यसका लागि हामीले केही लाकतान्त्रिक मान्यतालाई तीलाञ्जली दिनुपर्छ र केही राम्रा प्रहरी अधिकारीको वृत्तिमात्र होइन, उनीहरुको अधिकारको पनि हनन गर्नुपर्छ। दोस्रो समस्या, भ्रष्टाचारीलाई तह लगाउन भ्रष्टाचार यकिन गर्नुपर्छ र प्रमाण जुटाएर न्यायालयमार्फत कारबाही गर्नुपर्छ। यो एउटा प्रक्रिया हो जुन बोलेकै भरमा वा जनताले विश्वास गरेकै भरमा पूरा हुन सत्तै्कन।
 
शत्रु प्रष्ट देखिने अवस्थामा मात्र पपुलिज्म सफल हुन सक्छ। तर लोकतान्त्रिक व्यवस्थामा शत्रु प्रायः नदेखिने र लुकेको अवस्थामा रहन्छ। यसलाई पहिल्याउन सीप, शैली र प्रक्रिया चाहिन्छ, जुन पपुलिज्ममा प्रायः हुँदैन। हामीले प्रक्रियालाई तीलाञ्जली दिने हो भने, पपुलिज्मले हामीलाई कहाँ पुर्या्उँछ त्यो भन्न सकिन्न।
हामी सपनालाई प्रेम भन्ठान्दछौं। जब हामी कुनै अर्को व्यक्तिलाई वा कुनै वस्तुलाई प्रेम गर्छौँ, उसका लागि कुनै पनि कुरा त्याग गर्न सक्छौँ। आफैँलाई समेत। तर हामीले खासमा त्यो अर्को व्यक्ति वा वस्तुका लागि त्याग गरिरहेका हुँदैनौ। आफ्नो कल्पनाले सिर्जना गरेको एउटा सपनाका लागि त्यो त्याग गरिरहेका हुन्छौँ।
 
आखिरमा प्रेम एउटा सपना हो, एउटा विरोधाभास। व्यक्तिगत अस्तित्वका कारणमात्र सपना सिर्जित हुन सक्छ। तर सपनाका लागि सम्पूर्ण रुपमा आफ्नो अस्तित्व नामेट बनायौँ भने सपनाको पनि अन्त्य हुन्छ, अनि त्यससँगै प्रेमको पनि अन्त्य हुन्छ। त्यसैले धेरै प्रेममा कि धोका हुन्छ कि मृत्यु। धोका एउटा वास्तविकता हो, एउटा सपनाको मृत्यु। अनि मृत्यु एउटा सपना। जन्मको धोकाबाट मुक्ति।
 
त्यसैले लोकतन्त्र प्रेमको सपना हो भने धोका वास्तविकता।
 

– See more at: http://www.nagariknews.com/opinion/story/18987#sthash.FtvDbPs1.dpuf

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: