क्यान्टोनमेन्टका अन्तरिम नागरिक


800px-Camera_obscura2
अजयभद« खनाल

लाग्छ आजकाल हामी लोकन्त्रको सराद्दे गर्नका लागि खम्बामा बाँध्न चाहिने शक्तिपृथकीकरणरुपी विरालो खोज्दैछौं । नेपालका राजनीतिक दलहरु असफल भएको र राज्यका दुई प्रमुख अंग—कार्यपालिका र व्यवस्थापिका—निष्क्रिय रहेको अवस्थामा निर्वाचन मार्फत संसद ब्यूँताउनु लोकतन्त्रलाई सुनिश्चित गर्ने एकमात्र विकल्प हो ।

हामी, विशेष गरी राजनीति शास्त्री र कानुनी ज्ञाताहरु जनताको सार्वभौमसत्ताको कुरा गर्छौं, तर कसरी शक्ति र राजनीति जनताको शरीर र जीवनको स्वरुपभित्र एड्स भाईरसझैं छिर्छन् भन्ने कुराको ख्याल गर्दैनौं । माओवादी लडाकु समायोजन भएर क्यान्टोनमेन्ट खालि भएकामा खुशी मनाउने हामीले, सम्पुर्ण नेपाल नै कसरी क्यान्टोनमेन्ट भएको छ भन्ने केलाउनु जरुरी छ ।

हामीले अन्तरिम संविधानको व्याख्या गरेर मात्रै पुग्दैन, अन्तरिम नागरिकताको समेत चर्चा गर्नु पर्छ । आजको आवश्यकता अन्तरिम संविधानबाट मात्र होइन, अन्तरिम नागरिकताबाट पनि मुक्ति हो । दुर्भाग्यवश नागरिक समाजले राजनीति गर्न तम्सिदा, दलीय स्वार्थ हावी भएको छ, ऐतिहासिक दृष्टिकोण विभाजित भएको छ र दार्शनिक अन्तर्वस्तु गौण भएको छ ।

सार्वभौम हिंसा र संविधान

सार्वभौम हिंसा विना नयाँ संविधान र कानुन बन्न सक्दैन, त्यसैले राजनीतिक चिन्तनमा सार्वभौमसत्ता आँफैमा एउटा अन्तरविरोध हो । सार्वभौम कर्ता एकै समयमा कानुन भित्र पनि हुन्छ र संवैधानिक पद्धति बाहिर पनि हुन्छ । कार्ल स्मिट्को सिद्दान्त अनुसार, उसंग कानुनको वैधता निलम्बन गर्ने अधिकार हन्ुछ । यसलाई यसरी पनि भन्न सकिन्छ, “म, सार्वभौम कर्ता, जो कानुनको बाहिर छु, यो घोषणा गर्दछु कि कानुन बाहिर कोहि पनि छैन ।”

कानुनको निर्माण बाहिरबाट हुन्छ र निर्माण गर्ने क्रममा कानुनलाई निलम्बन गरिन्छ, त्यसैगरि जसरी अन्तरिम संविधान लेख्ने बेलामा २०४८ सालको संविधानलाई निलम्बन गरिएको थियो । सार्वभौम शक्ति संविधानभित्र सम्पूर्ण मात्रामा समाविष्ट नहुने कारणले मात्र संविधान संभव हुन्छ ।

वाल्टर वेन्यामिनका अनुसार नयाँ संविधान स्थापना गर्ने हिंसात्मक शक्ति र संविधान संरक्षण गर्ने हिंसात्मक शक्तिबीच जुहारी चलिरहेको हुन्छ । यो त्यतिखेर सम्म चलिरहन्छ, जबसम्म नयाँ शक्ति वा ऐतिहासिक अपरिहार्यता सिर्जना हुँदैन । हामी नयाँ ईतिहासको संघारमा छौं, र यसैलाई संक्रमणकाल मानिन्छ । र यस अवधिमा अन्तरिम संविधान स्थापना गर्ने हिंसात्मक शक्ति र त्यहि संविधानलाई यथावत राख्न खोज्ने शक्तिबीच जुहारी चलिरहेको छ । यस क्रममा राज्यशक्तिको क्षय हुनु र नयाँ युग सिर्जना हुनु नौलो होईन । यस्तो हिंसालाई अगाम्बेनले सार्वभौम हिंसाको संज्ञा दिएका छन् । सार्वभौम हिंसाले प्रकृति र कानुनबीचको भिन्नता मेटाउँछ । यो हिंसात्मक शक्ति कानुन भितर र कानुन ईतरको सिमानामा रहेको हुन्छ ।

यसरी हेर्दा नेपालको अन्तरिम संविधान निर्माणका लागि आवश्यक सार्वभौम हिंसाको श्रोत राजनीतिक दल तथा तिनका विदेशी मित्रहरु हुन् । २०६२–६३ को आन्दोलनपछि उनीहरुकै सम्झौताका आधारमा नेपालको अन्तरिम संविधान बन्यो र उनीहरुले नै आँफुलाई संविधान भित्र राखे । त्यसैले नेपालका दलहरु संविधानभित्र पनि छन्, र बाहिर पनि छन् । भलै नेपालको संविधानले जनतालाई सार्वभौम मानेता पनि, त्यो अधिकारको प्रयोग राजनीतिक दलहरु मार्फत मात्र भएको छ ।

हामीलाई अन्तरिम नागरिक बनाउनका लागि भारतीय भुमिमा भएको १२ बूँदे सम्झौता र त्यसकै आधारमा भएको २०६२–२०६३ को जनआन्दोलन निर्णायक छन् । अन्तरिम संविधानको प्रस्तावनमा यो प्रष्ट छ । संविधानसभाबाट नयाँ संविधान नबनुन्जेल, राजनीतिक सहमतिका आधारमा संविधान परिवर्तन हुन सक्छ ।

माओवादी नेताले उहिल्यै बुझिसकेको र नेपाली जनताले भर्खरै बुझ्न थालेको कुरा हो, नेपालमा राजतन्त्र हराउनुमा राजा र जनताबीचको झगडा निर्णायक थिएन । राजतन्त्रले प्रतिनिधित्व गर्ने विशेष खालको राष्ट्रियता केहि राजनैतिक शक्तिका लागि टाउको दुखाईको विषय बनेको थियो, र आपसमा विरोधीजस्ता लाग्ने यी शक्ति राजतन्त्र फाल्ने कुरामा सहकार्य गर्न पुगे ।

हुनत सार्वभौमसत्ता र मतदानको अधिकार नागरिकमा रहनुपर्ने हो । तर हामीकहाँ सार्वभौम अधिकार प्रयोग गर्न आन्दोलन कुर्नुपर्छ र मतदानको अधिकार लिन दलको शरण पर्नुपर्छ र चुनाव हुने नै भयो भने सरकारी कार्यालय धाउनु पर्छ । पहिला आँफ्नो नागरिकता राज्यका सामु प्रमाणित गर्नुपर्छ, र त्यसपछि निर्वाचन आयोगका सामु । नेपालका अन्तरिम नागरिक राज्य र दलहरुद्वारा सिर्जित शरीर हुन् भन्ने कुरामा कुने द्विविधा छैन ।

अन्तरिम नागरिकको पहिलो परिचय यहि हो । अन्तरिम संविधानका अनुसार राज्यको सबैभन्दा प्रमुख दायित्व “नेपाली जनतामा अन्तरनिहित सार्वभौमसत्ताको व्यावहारिक प्रत्याभूति गर्ने विषयलाई आत्मसात गर्दै” स्वतन्त्र र निष्पक्ष रूपमा संविधान सभाका सदस्यको निर्वाचन गर्नु हो । न्यायपालिका पनि त्यही राज्यको अंग हो । नयाँ संविधान नबनुन्जेल हाम्रो हैसियत अन्तरिम नागरिककै हुन्छ ।

तर अझ महत्वपूर्ण कुरा, सार्वभौमसत्ता राजनीतिक वा संवैधानिक अवधारणामात्र होइन, यो मानव जीवनसंग पनि जोडिएको हुन्छ । सार्वभौमले शक्तिले नांगो जीवलाई, एउटा असल व्यक्ति, अर्थात नागरिक बनाउन चाहन्छ । ईतिहासको यो अन्तरविरोध नै मान्नुपर्छ कि आधुनिक राज्यहरुमा मानवीय जीवन सार्वभौमसत्ता द्वारा बाह्य संसारमा निषेध गरिएको हुन्छ र संवैधानिक संसारमा बाँधिएको हुन्छ ।

नाँगो जीवको शहीदीकरण

जसरी मानव आत्मा ब्रम्हनालमा रहँदा यो संसारमा पनि रहन्छ र अर्को संसारमा पनि रहन्छ, हिंसात्मक शक्ति ले अन्तरिम नागरिकलाई कानुनभित्र र कानुनबाहिर राख्न सक्छ ।

यस्को सबैभन्दा रोचक उदाहरण रोमनेली ईतिहासमा देख्न पाईन्छ । रोमनेली कानुनमा होमो सेसर भनेर चिनिने व्यक्तिहरु हुन्छन्, जसलाई धार्मिक अनुष्ठानमा बलि दिन पाईन्न, तर जसलाई कसैले मार्यो भने कानुनी पाप लाग्दैन । यो होमो सेसर एउटा अन्तरिम नागरिकजस्तो हो, जुन कानुन भित्र पनि हुन्छ र बाहिर पनि हुन्छ । क्रान्तिमा होमिएर मर्दा यी शहीद हुन्छन्, र यिनको मृत्यु पहाडभन्दा गह्रुँगो हुन्छ । यिनै होमो सेसर शत्रुपक्षका रहेछन् भने अपराधीका रुपमा चिनिन्छन् र यिनलाई मार्दा कानुनी बात लाग्दैन, चाहे माओवादीले मारुन् या राज्यपक्षले । यिनको मृत्यु प्वाँखभन्दा हलुँगो हुन्छ । यी अन्तरिम नागरिकहरु आजकल एउटा बृहद क्यान्टोनमेन्टमा बस्छन्, जसको नाम हो नेपाल ।

फयरवाक पढेर माक्र्सले बुझे, धर्मले मानिशलाई जकड्नुको कारण आत्माको पराईकरण हो । जसरी ऐनामा हेर्दा आफ्नो रुप बाहिरी संसारमा देखिन्छ, त्यस्तै धर्मको ऐनामा हेर्दा आफ्नो आत्मा पनि बाहिरी संसारमा देखिन्छ । माक्र्सका अनुसार त्यहि बाहिर देखिने आत्मालाई मानिशले भगवान भनेर पुज्न थाले र धर्मको दासत्व स्वीकार गरे ।

स्वयं व्यक्तिहरु पहिचान र चेतनाको माध्यमबाट आँफुलाई राजनीतिमा अड्काईरहेका हुन्छन् ।

आधुनिक युगमा दुईथरी नयाँ भगवान निस्केका छन् — पुँजी र राज्य । मानिशले आफ्नो श्रमलाई आफ्नो भनेर नचिन्दा पैसाको दास हुन्छन् । त्यस्तै आँफुभित्र रहेको राजनीतिक शक्तिलाई नचिनेर त्यसको बाह्य रुपलाई मात्र चिन्दा राजनीतिक दल र राज्यका दास बन्न पुग्छन् ।

शक्तिको उन्माद र लतबाट राजनीतिक दलका नेताहरुलाई टाढा राख्न गाह्रो छ । नेपालको राजनीतिमा एउटा सिन्डीकेट सिस्टम छ । यो सिन्डीकेट सिस्टममा, यातायात व्यवसायमा जस्तै पालोको व्यवस्था हुन्छ । जुन दल सत्तामा पुग्छ, त्यसका आफ्ना मान्छेहरुको भाग्य खुल्छ र राज्यको सार्वजनिक श्रोतमाथि उनीहरुको हालिमुहाली शुरु हुन्छ । कतैपनि नलागेका नेपाली जनता भने जहिलेपनि हेरेको हे¥यै हुन्छन् ।

कसको पालो आउने भन्ने कुरा दलका ठेकेदारहरुले निर्णय गर्ने हुनाले, जहिलेपनि मौका कुरेर बस्ने कार्यकर्ताहरुले आफ्नो शक्ति नेतालाई हस्तान्तरण गर्छन् । यसकारण नेताहरुको दलभित्रको शक्तिमा खासै क्षय हुँदैन ।

पूँजीको रक्तसंचार मानवशरीरको बलि चढाएर मात्र संभव हुन्छ । जब असन्तोषको हुरी आउँछ, तब मात्र हावाको अस्तित्व देखिन्छ । तर जसरी पूँजीवादीको लागि मानव शरीर उत्पादन र बेचविखनको वस्तु बन्न पुग्छ, त्यस्तै मानव शरीर पनि सत्ता राजनीतिको साधन । त्यसैले होला नेताहरुलाई लडाकु, कार्यकर्ता र बन्दुकबीच भेद छुट्याउन गाह्रो छ । यो अन्तरिम नागरिकको अर्को स्वरुप हो ।

आधुनिक युगमा प्राकृतिक जीवलाई राजनीतिक शक्ति र राज्य सत्ताको हिसावमा मिलान गरिन्छ, र राजनीति जैविकराजनीतिको रुपमा परिवर्तन हुन्छ । समाजको राजनैतिक रणनीतिमा एउटा जीव परिभाषित हुन्छ । शक्तिले जीवको अस्तित्वभित्र छिर्छ र रुपमा मात्र नभएर सारमै परिवर्तन गर्छ ।

यसो हुनुमा हामी आँफै जिम्मेवार छौं । आर्थिक अवसरको सपना बोक्ने नेपाली युवा जसरी खाडीको अर्धदासत्वमा जकडिन पुग्दछन्, भविष्यको सुन्दर सपना देख्ने नेपाली राजनीतिक ठेकेदारहरुको अर्ध दासत्वमा हराउन पुग्दछन् । त्यसैगरी राजनीतिक ठेकेदारहरुलाई हामी स्वेच्छाले आफ्नो शक्ति हस्तान्तरण गर्दछौं ।

भाषा र सँस्कृतिद्वारा व्यक्ति पैदा हुन्छ र पहिचान ग्रहण गर्दछ । एकातिर आधुनिक राज्यले राजनीतिक पद्दतिबाट मानवलाई राजनीतिकरण गरिरहेका हुन्छन् भने, अर्कोतर्फ हामीलाई निर्वाचनका अवसरमा क्षणिक रुपमा आफ्नो शक्तिको एहसास हुन्छ ।

तर नेपालका दलहरुलाई कसरी मनाउने ? दलहरुलाई सरकारबाट बाहिर राख्नु, उनीहरुलाई चुनावप्रति आकर्षित गर्ने उत्तम उपाय हो । सरकारबाट दललाई बाहिर राख्नु, सार्वजनिक श्रोतमा दलहरुको हालीमुहाली रोक्नु हो । जसरी पानी बिना माछा बाँच्न सक्दैन, त्यसरि सार्वजनिक श्रोत बिना दलहरु बाँच्न सक्दैनन् र उनीहरु चुनावप्रति आतुर हुन्छन् ।

नाँगा जीवहरुलाई परिवर्तन गरेर असल वा चेतनशील जीव बनाउने काम राजनीतिले गर्छ, राज्यसत्ताको माध्यमद्वारा । यसरी मानवलाई परिवर्तन गर्न सक्ने हिंसात्मक शक्तिलाई नै सार्वभौमसत्ता भनेर आज हामी पुज्ने गर्छौं । सार्वभौम शक्तिको काम नाँगा शरीरहरुको बदलामा राजनैतिक शरीर उत्पादन गर्नु हो ।

तर अन्तरिम नागरिकताबाट मुक्ति कसरी संभव छ ? मुक्तिको उत्तर दिने प्रयासमा ईतिहास अनवरत दौडिरहेको छ । जसले उत्तर फेला पारेको दावी गर्छन्, ती केवल ढोंगी हुन् । हरेक ठुला दलहरु संग मुक्तिको मंत्र छ । त्यसरी नै, जसरी रत्नपार्क र सुन्धाराको सडकपेटीमा सवै रोगको निदान कराईरहेको हुन्छ ।

ajaya.khanal@gmail.com

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: