माओवादी महाधिवेशन ः ईतिहासको बोझ र सिद्दान्तमाथिको धोका


माओवादी महाधिवेशन ः ईतिहासको बोझ र सिद्दान्तमाथिको धोका
क्रान्तिका उपलब्धीहरुको यदि जस लिने हो भने, माओवादीले १६ वर्षेे नेपाली ईतिहासको यो बोझ बोक्नु पर्छ कि पर्दैन ?

अजयभद« खनाल

सातौं महाधिवेशन चल्दै गर्दा एनेकपा माओवादीले विगत १६ वर्षमा भएका उपलब्धिको जस आँफै लिँदैछ । तर माओवादीले मात्र होइन, हामी नेपाली जनताले पनि विगत १६ बर्षका नकारात्मक पक्ष बिर्सिएका छौं ।

सिद्दान्तमाथिको धोका

माक्र्सवादी सिद्दान्तलाई अभ्यासमा उतार्ने क्रममा एनेकपा माओवादीले नेपाली जनतालाई मात्र होइन, स्वयं सिद्दान्तलाई पनि बारम्बार धोका दिएका छन् । माक्र्सका अनुसार सिद्दान्तको आधारमा व्यवहार बनाइनु पर्छ, तर १६ वर्षे माओवादी ईतिहासमा व्यवहारका लागि सिद्दान्त परिवर्तन गर्ने चलन देखिएको छ । यो सरासर सिद्दान्तमाथिको धोका हो ।

नेपाली कम्युनिज्मको ईतिहासमा संसारलाई व्याख्या गर्ने र त्यसअनुसार क्रान्तिको अभ्यासगर्ने दुवै पक्षमा प्रशस्त विवाद र द्वन्द्व देखिएको छ । नेपाली समाज र वर्गसंघर्षको वस्तुस्थितिको व्याख्या गर्ने एकाधिकार माओवादीलाई मात्र छैन । जडसूत्रीय माओवादलाई क्रान्तिको लागि सामन्तवाद र उपनिवेशवाद आवश्यक पर्छ, शायद त्यसैकारण व्यवहारको लागि माओवादीले सिद्दान्त र व्याख्यालाई नै परिवर्तन गर्ने गरेको होला ।

जनयुद्द शुरु गर्ने क्रममा, क्रान्तिको अपरिहार्यता पुष्टि गर्नु जरुरी थियो । जनयुद्दको उद्देश्य थियो प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु । जनयुद्द घोषणा गर्दा नेकपा माओवादीले नेपालमा पनि सामन्तवाद र साम्राज्यवादको गठवन्धनमा आधारित अर्धसामन्ती एवं अर्धऔपनिवेशिक आर्थिक, सामाजिक संरचना रहेको उल्लेख गरेको थियो ।

तर आज आएर प्रचण्ड भन्दैछन्, अहिलेपनि देश हिजोकै जस्तो अर्धुसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नै छ भन्ने कुरा वस्तुगत युगान्तकारी परिवर्तनलाई नदेख्ने र नबुझ्ने यान्त्रिक मनोगत सोचाईमात्र हुनेछ । प्रचण्डको दस्तावेज पढ्दा लाग्छ, नेपाल रातारात अर्धसामन्तवाद र अर्धउपनिवेशवादबाट मुक्त भएको छ र समाजवादी क्रान्तिमा अग्रसर भएको छ ।

किन अर्धऔपनिवेशिक र अर्धसामन्ती भन्नु गलत हो त? यसको उत्तर अहिलेको माओवादी महाधिवेशनले घुमाउरो किसिमले दिन खोजेको छ ।

महाधिवेशन शुरु हुने क्रममा प्रचण्डले माक्र्सको भनाई उल्लेख गरे, दार्शनिकहरुले विभिन्न तरिकाले संसारलाई व्याख्या गरेका छन्, महत्वपूर्ण कुरा यसलाई परिवर्तन गर्नु हो । सिद्दान्तबाट अभ्याससम्म पुग्नुपर्ने सूत्र यही हो । तर सिद्दान्तबाट व्यवहारसम्म पुग्नका लागि पहिला समाजलाई व्याख्या गर्नुपर्छ र त्यसैको आधारमा मात्र क्रान्तिको अभ्यास हुन सक्छ । यदि व्याख्या नै गलत भयो भने, त्यसको आधारमा गरिएको क्रान्ति पनि गलत हुन्छ र यसपालिको माओवादी महाधिवेशनले लगभग त्यहि पुष्टि गरेको छ ।

समाजको माक्र्सवादी व्याख्या गर्ने क्रममा केहि सिद्दान्त तथा अध्ययनको चर्चा गर्नु जरुरी छ । पूँजीवादीहरुले दोश्रो विश्वयुद्धपछि विश्वबाट सामन्तवाद र उपनिवेशवाद हट्दै गएको बताउँछन्, तर माक्र्सवादीहरु यो मान्न तयार छैनन् ।

यसै सन्दर्भमा निक्सकेको निर्भरताको माक्र्सवादी सिद्दान्तले विश्वलाई केन्द« र परिधिमा विभाजन गरेर सामन्तवाद र औपनिवेशवादभन्दा भिन्न रुपमा समाजको चित्रण गर्दछ । सीमान्तमा रहेका गरिब र अविकसित राज्यहरुले विश्वका आर्थिक केन्द«मा रहेका सम्पन्न राज्यहरुलाई पोसेर अझ धनी बनाउँछन् । यो सिद्दान्तका र खुला बजारको सिद्दान्तमा यहीँनेर विवाद छ । खुला बजारका अधिवक्ताहरु परिमितिमा रहेका राज्यहरु विश्वव्यवस्थासंग नजोडिएका कारण गरीब भएका हुन् भन्ने तर्क गर्छन् । तर यस विपरित निर्भरताको सिद्दान्तले विश्व व्यवस्था केन्द«मा रहेका राज्यहरुले सीमान्तका राज्यहरुलाई शोषण गर्न मिल्ने गरी स्थापित भएको मान्दछ ।

यसैका आधारमा ब्लेकी, क्यामेरन र सेड््डनले २०३६ सालतिर नेपाल ईन क्राईसिस भन्ने अध्ययन गरे जसको निचोड थियो, नेपालको संकट केन्द« र परिधिबीचको सरंचनागत सम्बन्ध थियो । एकातिर केन्द«मा रहेको कुलीनतन्त्र र सीमान्तबीच पुरानो संरचनागत सम्बन्ध थियो भने, अर्कोतर्फ पूर्व–पूँजीवादी राज्यको बाह्य शक्तिसंगको पूँजीवादी वा अर्धऔपनिवेशवादी सम्बन्ध थियो ।
यस्तै नेपालमा पूँजीको भेदन र यसको विस्तारको बारे सबैभन्दा राम्रो अध्ययन स्टिफेन मिक्सेलले गरेका छन् । मिक्सेल, चैतन्य मिश्र र बाबुराम भट्टराई सबैले राणा शासन र राजतन्त्रको विरुद्दका आन्दोलनहरुलाई मध्यमवर्गको चेतनासंग हैन, उनीहरुको आर्थिक जडसंग जोडेका छन् । नेपालमा पूँजीवादको प्रवेशबाट फाईदा लिने यहि वर्ग थियो । भट्टराईका अनुसार २०६२–२०६३ को आन्दोलन यही पूँजीपतिवर्गको चरमोत्कर्षको आन्दोलन थियो ।
चैतन्य मिश्रले निर्भरताको सिद्दान्त, ब्लेकी तथा मित्रहरुको अध्ययन र नेपालमा पूँजीको विस्तार बारे मिक्सेलले गरेको शोधका आधारमा केहि तर्क अघि सारे । मिश्रका अनुसार नेपालको अविकासको कारक, भारत र बेलायतसंगको नेपालको अर्ध औपनिवेशिक सम्बन्ध थियो, तर यस्तो सम्बन्ध जसलाई केन्द« र परिधिको निर्भरताको सिद्दान्तले अझ राम्रोसित व्याख्या गर्छ । उनका अनुसार नेपाल भित्रै पनि केन्द« र परिधिको सम्बन्ध स्थापित भयो ।

केहि वर्ष अघि, यसैका आधारमा घनश्याम भूसालले माओवादी सिद्दान्तसंग पौंठेजोरी खेल्ने प्रयास गरे । उनको प्रमुख तर्क थियो, माओले चीनमा गरेको जनवादी क्रान्ति अर्धसामन्तवाद र अर्धउपनिवेशवाद विरुद्द थियो । तर यदि नेपालमा अर्धसामन्तवाद र अर्धउपनिवेशवादको अन्त निकै अघि भैसकेको थियो भने, १० वर्षे जनयुद्दको प्रयोजन के त ?
माओवादीको चुनवाङको बैठकले नयाँ जनवादको सट्टा लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्यो । अहिलेको माओवादी महाधिवेशनले माओलाई परित्याग गर्दै तेङ स्याओपिङलाई स्वीकार गरेको छ । एक्काईसौं शताब्दीको जनवादबाट एक कदम हटेर माओवादीहरु अब समाजवादमा आधारित नेपाली आर्थिक क्रान्ति गर्ने योजनामा लागेका छन् ।

केन्दि«य समितिको तेश्रो विस्तारित वैठकमा सशस्त्र संघर्षको प्रारम्भ क्रमिक विकासका रुपमा गर्ने वा क्रमभंग र छलांगका रुपमा भन्ने बारेमा निकै बहस चलेको थियो । त्यसमा पार्टीले व्यवहारमा क्रमिक विकासकै तरीका, सुधारको तरीका दोहोर्इाई रहनु क्रान्तिकारी माक्र्सवाद नभएर निम्न पूँजीवादी सुधारवाद वा भँडुवा विकासवाद हुने निचोड निकालेको थियो । एउटा प्रक्रियाबाट अर्को प्रक्रियामा रुपमान्तरण विस्तारै, विस्तारै असंभव छ, त्यसका निमित्त गुणात्मक फड्को अनिवार्य हुन्छ,भन्ने बैठकको निष्कर्ष थियो ।

प्रचण्डले हालैको दस्तावेजमा लेखेका छन् – स्मरण रहोस्, त्यतिबेला यो बहसमा आज जडसूत्रीय विसर्जनवादको शिकार भएर पार्टीबाट अलग्गिएका जिम्मेवार नेताहरु क्रमभंगको तरिकाद्दारा नभएर क्रमिक विकासको तरिकाको पक्षपोषण गरिरहेका थिए भने, तात्कालिन महामन्त्री क प्रचण्डको सो प्रस्तावलाई क बाबुराम भट्टराईले जोडदार समर्थन गरेपछि मात्र परित भएको थियो ।
माओवादी हिँसात्मक आन्दोलन सफल हुनुको कारण नेपाली समाजको वर्गसंघर्षको विकासको वस्तुगत स्थिति हैन, भारतीय रणनीति हो । बाबुराम भट्टराईले आफ्नो माक्र्सवादी जनवादको सिद्दान्तलाई त्यागेर, क्रान्तिको छोटो बाटो समाते । यो सरासर साम्यवादी सिद्दान्तमाथिको धोखा थियो ।

यसरी यदि माओवादीले हिँसात्मक आन्दोलन मार्फत भारतीय रणनीतिलाई नेपालमा हावी हुन नदिएको भए, आज नेपालको आर्थिक र सामाजिक उन्नतिको अर्कै अवस्था हुने थियो । एनेकपा माओवादीको रणनीतिले नेपालको अर्धसामन्तवादी र अर्धऔपनिवेशवादी चरित्रलाई निर्मुल गरेको हैन, बरु उल्टै नेपाललाई निर्भरताको असमान सम्बन्धमा जकडिदिएको छ । भारत आज अझ बलियो आर्थिक केन्द« बनेको छ भने, नेपाल श्रम र श्रोतको कमजोर परिधि ।

हेटौंडामा प्रचण्डले उद्घोष गरे, नेपाली जनवादी क्रान्ति सफल भयो, अब नेपाली क्रान्ति गर्ने बेला आयो । उक्त भनाईको पछाडि अर्कै तत्व दर्शन छ । अब आएर बल्ल प्रचण्डले बुझेछन्, देशको अर्थतन्त्र बलियो भएन भने छिमेकिले खुलेआम हस्तक्षेप गर्दा पनि आँफु चुईक्क बोल्न नसकिने रहेछ । अथवा बोल्योभनेपनि आफ्नो राजनीतिक विर्ता खोसिने रहेछ ।

त्यसैले आज हामीले केलाउनु पर्ने अर्को कुरा, माओवादी जनयुद्दको परिणाम के त? अर्थात माओवादी जनयुद्दका दश बर्ष र त्यसपछिका राजनीतिक द्वन्द्वका ६ बर्षले हामीलाई के दियो त ?

पहिलो, हाम्रो मुलुक धर्म निरपेक्ष बन्यो, अर्थात राज्यले औपचारिक रुपमा हिन्दु धर्मलाई टेवा दिन छोड्यो । दोश्रो, नेपालका राजा हटाईए र गणतन्त्रको स्थापना भयो । तेश्रो, सीमान्तीकृत अवस्थामा रहेका विभिन्न पहिचानसमूहहरु बलिया भए र उनीहरुको आवाज सुनिन थाल्यो ।

तर यी सबै उपलब्धि सतही मात्र हुन् । देशको सामाजिक संरचना र सँस्कारमा खासै परिवर्तन आएको छैन । माओवादीको यो छलांग र क्रमभंगताले प्रचण्ड र बाबुरामलाई देशको सबैभन्दा शक्तिशाली नेताका रुपमा स्थापित गर्नु बाहेक अरु खासै केहि दिएको छैन ।

माओवादी जनयुद्धकै कारण विगत १६ बर्षमा देश अधोगतिमा गएको छ । नेपालका उद्योगहरु सबैजसो बन्द भएका छन्, देशको पूँजी र नवयुवा सबै पलायन भएका छन् । देशमा गरिबी व्याप्त, आत्मसम्मान स्खलित छ, स्वाधीनता निरिह छ । देशको १६ वर्ष खेर गएको छ । एउटा जुंगाको रेखी बस्न लागेको नवयुवकको हत्या । एउटा किशोरीको बलात्कार ।

तर यसै समयावधिमा हाम्रैजस्तो अवस्था रहेको भारतमा धेरै विकास भयो, र हामीले अविकास र पिछडेपनको नमूना भनेर हेप्ने गरेको विहार हाम्रै लागि उदाहरण बन्न पुग्यो । हाम्रा प्रधानमन्त्रीले हालै ट्वीटरमा लेख्नुभयो, मलाई पाँचबर्षसम्म अविच्छिन्न राज गर्न दिनुहोस्, म नेपाललाई बिहार बनाईदिन्छु ।

त्यसैले क्रान्तिका उपलब्धीहरुको यदि जस लिने हो भने, माओवादीले १६ वर्षेे नेपाली ईतिहासको यो बोझ बोक्नु पर्छ कि पर्दैन ? के उ यसबाट उम्किन सक्छ ?

यदि नेपाली क्रान्ति सफल गर्ने हो भने, माओवादीहरुले ईतिहासको बोझ बोक्ने साहस गर्नुपर्दछ र माक्र्सवादी सिद्दान्तलाई धोका दिने क्रम बन्द गर्नु पर्दछ ।

ajaya.khanal@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: